बारा, ३ भदौ । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा–२ का सुमन थापा र उनी काम गर्ने म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरी छन् । प्रहरीका अनुसार सुमनलाई घटनास्थलमै पक्राउ गरिएको हो ।
तालिमप्राप्त कुकुरले संकेत गरेपछि पक्राउ परेका सुमनले प्रहरीसमक्ष बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेको बताइएको छ । चालक चौधरीलाई भने अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गरिमा आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन् । उनको शव घरबाट करिब २०० मिटर टाढाको खाली घरमा कपडामा पोको पारिएको अवस्थामा मंगलबार साँझ फेला परेको थियो । घटनाको विरोधमा स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा अगाडि प्रदर्शन गर्दै दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्डमा यातायातसमेत अवरुद्ध भएको छ ।














