काठमाडौँ, ३ भदौ । गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा आफूले दिएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति गम्भीर राजनीतिक टिप्पणी नभई मतदातासँग गरिएको मजाक मात्र भएको बताएका छन् ।
रास्वपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदातासँग ठट्टा गर्न पनि पाइने बताएका हुन् । ‘भोट फिर्ता कसरी गर्न मिल्छ र ? भन्ने पत्रकारको प्रश्नमा उनले आफ्ना मतदातासँग मजाक गरेको जवाफ दिए ।
गत साता गोरखाको नाम्जुङ पुगेका गुरुङलाई स्थानीय पार्टी नेताहरूले स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्ने चुनावी प्रतिबद्धता सम्झाएका थिए।
सोही क्रममा उनले सबै काम चार महिनाभित्र पूरा गर्न सम्भव नहुने भन्दै आक्रोशित शैलीमा ‘भोट फिर्ता लैजानुस्’ भनेका थिए ।
उक्त अभिव्यक्ति सार्वजनिक भएपछि विभिन्न टिप्पणी हुन थालेपछि गृहमन्त्री गुरुङले त्यसलाई केवल सामान्य ठट्टाका रूपमा लिन आग्रह गरेका हुन् ।














