काठमाडौं, ३ भदौ । सांसदहरूले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै निष्पक्ष छानबिन र दोषी प्रहरी अधिकारीमाथि समेत कारबाही गर्न माग गरे ।
रास्वपा सांसद रहबर अन्सारीले बालिका हराएको जानकारी पाएपछि २४ घण्टासम्म पनि प्रहरीले प्रभावकारी खोजी नगरेको आरोप लगाउँदै घटनासँग सम्बन्धित प्रहरीको ‘एक्सन लग’ सार्वजनिक गर्न माग गरे।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खुलेको छ ।
साउन ३१ गतेदेखि बेपत्ता बालिकाको शव मंगलबार एक घरको खाली कोठामा फेला परेको थियो ।














