काठमाडौँ, २ भदौ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित छुट्टाछुट्टै समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार मंगलबार दुवै समितिले गृहमन्त्री सुधन गुरुङसमक्ष छानबिन प्रतिवेदन बुझाएका हुन् । उनका अनुसार प्रतिवेदनमा समेटिएका निष्कर्ष र सिफारिसबारे मन्त्रालयले अध्ययन गरिरहेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपले मधेस प्रदेशका विभिन्न जिल्लामा समेत तनावको अवस्था सिर्जना गरेको थियो ।
उक्त घटनामा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको थियो ।
त्यस्तै, सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
यी घटनाको स्थलगत अध्ययन तथा छानबिन गर्न सरकारले छुट्टाछुट्टै समिति गठन गरेको थियो । कप्तानगञ्ज घटनाको छानबिन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले गरेको हो ।
त्यसैगरी, गोलबजार घटनाबारे गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो । दुवै समितिले घटनाको अवस्था, त्यसका कारण तथा घटनापछि उत्पन्न परिस्थितिबारे अध्ययन गरी निष्कर्ष र आवश्यक सिफारिससहित प्रतिवेदन बुझाएका छन् ।
गृह मन्त्रालयले अब प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेखित सुझाव र सिफारिस कार्यान्वयनबारे आवश्यक निर्णय लिने जनाएको छ ।












