जनकपुर, १ भदौं । मधेस प्रदेशसभाले गत आर्थिक वर्षमा ३० करोड ३१ लाख रुपैयाँभन्दा बढी खर्च गरे पनि जम्मा ६ वटा कानुन मात्र निर्माण गरेको छ ।
तीमध्ये ३ वटा बजेटसम्बन्धी र ३ वटा अन्य विधेयक रहेका छन् । प्रदेशसभा सचिवालयका अनुसार दोस्रो कार्यकालको चार वर्षमा हालसम्म १७ वटा विधेयक र एउटा नियमावली मात्र पारित भएका छन् ।
पहिलो कार्यकालमा भने ६६ वटा कानुन बनेका थिए । प्रदेशसभा सदस्यहरूले सत्ता परिवर्तन र राजनीतिक खिचातानीका कारण अपेक्षाअनुसार कानुन निर्माण हुन नसकेको बताएका छन्।
पछिल्लो एक वर्षमै मधेस प्रदेशमा चार पटक सत्ता परिवर्तनको प्रयास भएको थियो । यस्तै, सभामुख रामचन्द्र मण्डललाई दुई तिहाइ बहुमतबाट पदमुक्त गरिएको घटना पनि यही अवधिमा भएको थियो ।
राजनीतिक अस्थिरताका कारण प्रदेशसभाको प्रभावकारिता कमजोर बनेको भन्दै सांसद तथा विश्लेषकहरूले जनताका मुद्दामा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका छन् ।














