काठमाडौं, १ भदौं । सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ का सम्बन्धित प्रावधानअनुसार प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।
नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।
तर उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै सांसदहरूले लामो समयदेखि प्रश्नोत्तर कार्यक्रम माग गर्दै आएका थिए । सभामुखको रुलिङपछि विपक्षी दलका सांसदहरू पनि बैठकमा बसेर सदन सञ्चालनमा सहयोग गरेका थिए ।












