जनकपुर, ३१ साउन । धनुषामा करेन्ट लागेर २३ वर्षीया युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको एकडारा गाउँपालिका–१ की पुनिताकुमारी महतो रहेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–१८ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा पुगेकी पुनितालाई आइतबार बिहान करिब ११ बजे पानी तान्ने मोटरको स्विच चलाउने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । तर, चिकित्सकले जाँचपछि दिउँसो १२ बजे मृत घोषणा गरेका थिए ।
मृतकको शव हाल प्रादेशिक अस्पताल जनकपुरमै राखिएको प्रहरीले जनाएको छ ।














