काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनमार्फत योजनाबद्ध रूपमा पार्टीमा फुट ल्याइएको आरोप लगाएका छन् ।
इतर समूहको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले सभापति शेरबहादुर देउवा अस्पतालमा रहेका बेला नेतृत्व हस्तान्तरणका लागि महामन्त्रीद्वयबाट दबाब आएको दाबी गरे ।
निधिले रूपान्तरण र पुस्तान्तरणका नाममा विधिविपरीत नेतृत्व कब्जा गर्ने प्रयास भएको आरोप लगाउँदै १५औँ महाधिवेशन देउवाकै अध्यक्षतामा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले सदस्यता अद्यावधिकको नाममा दबाब सिर्जना गर्नु विधानविपरीत भएको पनि बताए । साथै, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको निर्णयलाई स्वागत गर्दै पार्टी एकताका लागि सबै नेता–कार्यकर्तालाई सक्रिय रहन आग्रह गरे ।












