जनकपुर, ३० साउन । दलित समुदायको सम्मान, उत्थान र सशक्तीकरणका लागि हरिपुरमा विशेष सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना गरिएको छ ।
हरिपुर दलित समाजको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुगेका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मालाई सम्मान तथा अभिनन्दन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री दासले दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक विकासका लागि शिक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए ।
उनले विशेषगरी दलित समुदायका बालबालिकालाई शिक्षामा जोड दिँदै अवसर पाए उनीहरूले पनि राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सक्ने बताए ।
मन्त्री दासले ‘गरिब हुनु कुनै गलत होइन’ भन्दै आफू पनि गरिब परिवारबाट आएको र शिक्षा हासिल गर्दै अघि बढेर मन्त्री बन्न सफल भएको उदाहरण प्रस्तुत गरे ।
उनले आर्थिक अभावलाई कमजोरीका रूपमा नलिई शिक्षा र मेहनतका माध्यमबाट अघि बढ्न दलित समुदायलाई आग्रह गरे । किसानका समस्या समाधानका लागि सरकारले मलखाद र सिँचाइको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।
किसानलाई आवश्यक कृषि सामग्री तथा सिँचाइको सुविधा उपलब्ध गराउन सके उत्पादन वृद्धि हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने उनको भनाइ थियो ।
कार्यक्रममा तत्मा समुदायका अगुवा तथा शिक्षक रामशरण दास तत्माले दलित समुदायको वर्तमान अवस्था, समस्या र अधिकारका विषयमा चर्चा गरेका थिए ।
उनले राज्यका हरेक क्षेत्रमा दलित समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता बुदुर दासले गरेका थिए । कार्यक्रममा स्थानीय दलित अगुवा, शिक्षक, समाजसेवी तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।












