हेटौंडा, ३० साउन । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी तोकेको छ ।
साउन २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्मका लागि यस्तो जिम्मेवारी तोकेको हो ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य, अनिता निरौलालाई श्रम तथा यातायात र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटनको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद, डा. सुमित्रा गौतमलाई स्वास्थ्य र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी तोकिएको छ ।
कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा. केदार बराललाई वन तथा वातावरण तथा सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी दिइएको छ ।












