काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको असहमति र निराशा तत्काल समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
करिब साढे पाँच महिनापछि काठमाडौं फर्किएका देउवाले आफू शक्ति वा सत्ता प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पारे ।
उनले कांग्रेसले अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । पार्टीभित्र विवाद बढ्दा राष्ट्रियता कमजोर हुनसक्ने भन्दै नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई त्याग, बलिदान र सामूहिक भावनाका साथ अघि बढ्न आग्रह गरे ।
बीपी कोइरालाले २०३३ सालमा लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति स्मरण गर्दै देउवाले वर्तमान अवस्थामा पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।
उनले आफू नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्धता दोहो¥याए ।












