काठमाडौँ, २७ साउन । राष्ट्रिय सभाका सदस्यहरूले देशभर ग्यास अभाव हुँदा नागरिकले सास्ती खेप्नुपरेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
बुधबारको बैठकको शून्य समयमा सांसद कमला पन्तले ग्यासका लागि लामो लाइन लाग्नुपर्ने अवस्था रहे पनि सरकारले अभाव नभएको बताउने गरेको भन्दै यसबारे सरकारलाई रुलिङ गर्न माग गरिन् ।
सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभाव देशभर देखिएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद नरबहादुर विष्टले सरकारले कहिलेसम्म ग्यास उपलब्ध गराउने हो भन्दै प्रश्न गरे ।
यसैबीच, सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।














