जनकपुर, ९ साउन । जनकपुर उपमहानगरपालिका–१ मा सरसफाइ तथा वृक्षरोपण अभियानको दोस्रो दिनको कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ ।
सांसद मनिष झाको सचिवालयको समन्वयमा आयोजित अभियानमा वडा नम्बर–१ का पूर्व वडा अध्यक्ष शत्रुधन साहको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल -एपीएफ) का सुरक्षाकर्मीले सक्रिय रूपमा सहभागिता जनाउँदै सरसफाइ र वृक्षरोपण कार्यमा सहयोग गरेका थिए ।
अभियानमार्फत स्वच्छ, हराभरा र सुन्दर जनकपुर निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन् । कार्यक्रममा स्थानीयवासी तथा स्वयंसेवीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी, स्वयंसेवी तथा सबै सरोकारवालाप्रति मनिष झा सचिवालयले आभार व्यक्त गरेको छ ।
सचिवालयले स्वच्छ वातावरण र हरित भविष्य निर्माणका लागि यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।














