काठमाडौं, २८ असार । शक्तिशाली आँधी बावी चीनमा जमिनमा प्रवेश गरेपछि व्यापक सतर्कता अपनाइएको छ ।
आँधीको जोखिमलाई ध्यानमा राख्दै झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चीनको मौसम विभागका अनुसार बावीले पहिलोपटक ताइझोउ र त्यसपछि वेन्झोउमा ल्यान्डफल गरेको हो ।
आँधीका कारण झेजियाङ र फुजियान क्षेत्रमा भारी वर्षा, बाढी र डुबानको जोखिम बढेको छ । झेजियाङमा विद्यालय, कार्यालय, बाहिरी गतिविधि बन्द गरिएका छन् भने करिब ४०० उडान र धेरै रेल सेवा रद्द भएका छन् ।
यसअघि बावीले फिलिपिन्समा पहिरो निम्त्याउँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो । चीनमा भने आँधी कमजोर बन्दै गए पनि भारी वर्षाको जोखिम अझै कायम रहेको अधिकारीहरूले बताएका छन् ।














