सुनसरी, २४ असार । सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई गलत सूचना दिई निजी अस्पतालतर्फ पठाएर कमिसन लिने आरोपमा प्रहरीले १२ जना बिचौलियालाई पक्राउ गरेको छ ।
उनीहरू अस्पतालको इमर्जेन्सी, ओपीडी, रेडियोलोजी र अन्य विभागबाट नियन्त्रणमा परेका हुन् । पक्राउ परेकामध्ये दुई जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने अन्यमाथि पनि थप अनुसन्धान जारी छ।
प्रहरीले बिचौलियाहरू संगठित गिरोहका रूपमा सक्रिय रहेको तथा निजी अस्पताल, एम्बुलेन्स चालक र केही फार्मेसीसँग समेत साँठगाँठ भएको आशंकामा अनुसन्धान अघि बढाएको छ ।














