काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिन पूरा भएको अवसरमा आफ्नो उपलब्धिहरू सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले सय दिनमा भएका प्रमुख कामहरूको समीक्षा गर्दै सुशासन, पारदर्शिता र प्रशासनिक सुधारलाई केन्द्रमा राखिएको जनाएको हो।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सरकार गठनसँगै सार्वजनिक गरिएको १०० दिने कार्ययोजनाअनुसार विभिन्न क्षेत्रमा सुधारका कदम चालिएको सरकारको दाबी छ।
सरकारले २०४८ सालपछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेको तथा कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको जनाएको छ।
त्यस्तै, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी समस्या समाधान, सिंहदरबार र काठमाडौं केन्द्रित पहुँचवाला कर्मचारीको व्यवस्थापन, कानुनबमोजिम बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी बचतकर्ताको समस्या समाधानका पहल तथा सरकारी र सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानलाई पनि सरकारका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
सरकारले मन्त्रालयको संख्या घटाउने, अनावश्यक दरबन्दी हटाउने, सेवाप्रवाहलाई सरल बनाउने, प्रक्रियागत झन्झट कम गर्ने तथा एक सयभन्दा बढी कानुन संशोधनको तयारीलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
यस्तै, भ्रष्टाचार र वित्तीय अपराधविरुद्ध आक्रामक अनुसन्धान, निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणाली लागू गरिनु पनि सय दिने उपलब्धिमा समावेश गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले आगामी दिनमा पनि सुशासन, पारदर्शिता, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर कामलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।














