काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै उम्मेदवार पूजा बास्तोलाले सर्वोच्च अदालत जाने घोषणा गरेकी छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै उनले गण्डकी प्रदेश भूगोलतर्फ ९१३ मत प्राप्त गरे पनि अन्तिम नतिजामा आफूलाई निर्वाचित नगरिएको र आफूभन्दा कम मत ल्याएका उम्मेदवारलाई विजयी घोषणा गरिएको आरोप लगाइन् ।
पार्टीको निर्वाचन आयोगमा उजुरी गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएपछि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको उनले बताइन् ।
बास्तोलाले आफ्नो संघर्ष व्यक्तिगत पदका लागि नभई लोकतान्त्रिक प्रक्रिया, पारदर्शिता र आफूलाई मत दिने ९१३ प्रतिनिधिको मतको सम्मानका लागि रहेको उल्लेख गरेकी छन् ।
यस विषयमा रास्वपाको केन्द्रीय निर्वाचन आयोगले भने कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।














