जनकपुर, ३० जेष्ठ। मानव अधिकार तथा शान्ति समाजले मधेश प्रदेश सभा सदस्य तथा समाजसेवी ललिता दास विद्रोहीलाई ‘कर्मयोगी बद्रीप्रसाद पहाडी समाजसेवा पुरस्कार-२०८३’ प्रदान गरी सम्मान गरेको छ।
उक्त पुरस्कारको राशी रु. १ लाख १० हजार रहेको छ। समाजसेवा, सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समाजले विद्रोहीलाई उक्त सम्मान अर्पण गरेको जनाएको छ।
ललिता दास विद्रोहीले लामो समयदेखि दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउँदै आएकी छन्। सामाजिक विभेद, जातीय भेदभाव तथा महिला अधिकारका विषयमा उनले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न सामाजिक आन्दोलनमा सहभागिता जनाउँदै आएकी छन्।
पुरस्कारको नामकरण गरिएका समाजसेवी बद्रीप्रसाद पहाडीले शिक्षा, समाजसेवा तथा विभिन्न सामाजिक संस्थामार्फत दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वका रूपमा परिचित छन्।
विसं १९९९ साल चैत १ गते सिराहा जिल्लामा जन्मिएका पहाडीले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि रु. १ करोड सहयोग प्रदान गरेका थिए।
मानव अधिकार तथा शान्ति समाजले सामाजिक रूपान्तरण, मानव अधिकारको संरक्षण तथा समावेशी समाज निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।
ललिता दास विद्रोहीलाई प्रदान गरिएको यो सम्मानले सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा उनको योगदानलाई थप उचाइ दिएको बताइएको छ।














