काठमाडौं, २८ जेठ । बर्दियामा नक्कली सरकारी कार्यालय स्थापना गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती, दाङको लमही नगरपालिका–५ की २३ वर्षीया कृपा चौधरी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले बगनाह बजारमा घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिंचाइ विभाग’ नामको नक्कली कार्यालय सञ्चालन गर्दै आएका थिए ।
घटनाबारे सूचना पाएपछि प्रहरीले दम्पतीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरूमाथि लिखत सम्बन्धी कसूर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ ।














