काठमाडौं, ८ जेष्ठ । संघीय संसदअन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछ। विभिन्न समितिहरूमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यक्रम, मानव अधिकार, सार्वजनिक पूर्वाधार, विपद् व्यवस्थापन, सञ्चार क्षेत्र र बेरुजु फस्र्यौटलगायत विषयमा छलफल हुने भएको छ ।
अर्थ समितिमा बजेटसम्बन्धी नीतिगत सुझाव प्रस्तुत गरिनेछ भने कानुन समितिमा कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दीको मानव अधिकारबारे गृह मन्त्रालयसँग छलफल हुनेछ ।
यस्तै, पूर्वाधार विकास समितिमा मध्यपूर्व युद्धका कारण सार्वजनिक निर्माणमा परेको प्रभावबारे चर्चा भइरहेको छ । सार्वजनिक लेखा समितिमा महालेखापरीक्षकसँग बेरुजु फस्र्यौटबारे छलफल हुने कार्यसूची रहेको छ ।














