काठमाडौं, ५ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्ले बहुलवादी लोकतन्त्रमा विश्वास गर्ने भएकाले फरक मतको सम्मान गरिने बताएका छन् ।
बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै दल सुशासित, समुन्नत र समृद्ध नेपालको साझा लक्ष्यमा एकजुट रहेको बताए ।
उनले गन्तव्यमा विवाद नभए पनि त्यहाँ पुग्ने बाटोमा विमति हुन सक्ने उल्लेख गर्दै विगत ३० वर्षको नीति र शासकीय शैलीकै कारण राजनीतिक तथा आर्थिक रूपान्तरणको माग उठेको बताए ।
साथै, नेपालले कुशासनको ठूलो मूल्य चुकाएको भन्दै सरकारले सुशासन, शासकीय सुधार र आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको दाबी गरे ।
अर्थमन्त्री वाग्लेले संविधानप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवश्यक संशोधन भए पनि संविधानकै व्यवस्था अनुसार अघि बढ्ने बताएका छन् ।














