काठमाडौं, २९ बैशाख । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद बैठकमा प्रस्तुत गरिने भएका छन् ।
स्वर्णिम वाग्लेले प्रतिनिधिसभा अर्थ समितिको बैठकमा यसबारे जानकारी दिँदै सांसदहरूबाट प्राप्त सुझावलाई आगामी बजेट निर्माण प्रक्रियामा समावेश गरिने बताए ।
उनका अनुसार सरकारले अघि सारेको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रसँग धेरै हदसम्म मेल खाने खालको छ । साथै, बजेटका लागि विभिन्न सांसदहरूले अर्थ मन्त्रालयमा माग तथा योजनाहरू प्रस्तुत गर्ने क्रम अझै जारी रहेको पनि उनले बताए ।
अर्थमन्त्री वाग्लेले नयाँ सरकार गठन हुनुअघि नै बजेटको सिलिङ निर्धारण भइसकेकाले अहिले खर्च व्यवस्थापनका लागि सीमित ‘स्पेस’ रहेको उल्लेख गरे । प्रचलित कानुनी व्यवस्था अनुसार बजेट सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिनअघि नै बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ।














