काठमाडौं, २४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
यसका लागि मन्त्रालयले लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई सिफारिस प्रक्रिया सुरु गर्न अनुरोध गरेको जनाए । मन्त्रालयका अनुसार बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै चिकित्सा शिक्षा ऐनको दफा २३ अनुसार उपाध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरिएको हो ।
कानुनी व्यवस्थाअनुसार उपाध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिनेछ । समितिमा लोकसेवा आयोगका अध्यक्ष संयोजक रहनेछन् भने मुख्य सचिव वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ ।
साथै, चिकित्सा क्षेत्रका प्राध्यापकहरूमध्येबाट सरकारले तोकेको एक महिला सदस्य पनि समितिमा रहने प्रावधान छ । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश–२०८३ लागू भएपछि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त रहेको छ ।














