जनकपुर, ६ । सिरहा जिल्ला अदालतअगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेको छ । उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले जनाए ।
पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए । विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए ।
घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव छन् । उनको खुट्टामा चोट लागेको थियो । घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको थियो ।














