काठमाडौं, ५ चैत । काठमाडौंमा नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा गगन थापाले दिएको सभापति पदको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने तयारी भएको छ ।
थापाले २१ फागुनको निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन् । थापा बैठकमा सहभागी नहुने बताइएको छ भने बैठकको अध्यक्षता शर्माले गर्नेछन् ।
सो बैठकमा थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै अस्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ । नेतृत्वको सामूहिक कमजोरीका कारण पराजय भएको निष्कर्षसहित राजीनामा अस्वीकार गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
यसअघि पनि थापालाई राजीनामा नदिन पार्टीभित्र दबाब थियो । विभिन्न जिल्लाका नेताहरूले पनि राजीनामा नदिन आग्रह गरेका थिए ।














