जनकपुर, ३ चैत । प्रतिनिधि सभा निर्वाचनमा मधेश प्रदेशबाट समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशी दलित समुदायलाई प्रतिनिधित्व नदिएको भन्दै असन्तुष्टि बढेको छ ।
दलित अगुवाहरूको बैठकले यसलाई समावेशीताको मर्मविपरीत निर्णय भन्दै आन्दोलन घोषणा गरेको हो । उनीहरूले समानुपातिक प्रणालीमा मधेशी दलितको पूर्ण उपेक्षा गरिएको आरोप लगाएका छन् ।
वक्ताहरूले सबैभन्दा बढी मत पाउने दलले नै दलितलाई स्थान नदिनु लोकतान्त्रिक मूल्य विपरीत भएको बताएका छन् । साथै, तत्काल सुधार गरी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।
माग सम्बोधन नभए विरोध सभा, ज्ञापनपत्र र सडक आन्दोलनसम्मका कार्यक्रम अघि बढाउने चेतावनी दिइएको छ । प्रथमलाल रामको अध्यक्षतामा बसेको बैठकले संघर्ष समिति गठन गर्दै आन्दोलन अघि बढाउने निर्णय गरेको छ ।














