काठमाडौं, २ चैत । सुर्खेतकी इनिशा विक हत्या प्रकरणको छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।
इनिशाका दाइहरू चन्द्रबहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई न्याय दिलाउन आग्रह गरेका हुन् ।
गृहमन्त्री अर्यालले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन दिएका छन् । पीडित परिवारले महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र जघन्य अपराध रोक्न सम्बन्धित निकाय र सरोकारवालाले गम्भीर ध्यान दिनुपर्ने पनि बताएका छन् ।












