काठमाडौं, १ चैत । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएको छ ।
मन्त्री शर्माले युद्ध प्रभावित देशहरूमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाए । युद्ध चकिँर्दै गए उद्धारका लागि सरकारले आवश्यक तयारी समेत गरेको उनले भने ।
त्यसका लागि विभिन्न योजना अन्तर्गत तयारी भइरहेको बताउँदै सम्बन्धित देशमा रहेका दूतावास तथा नियोगहरू मार्फत रिपोर्टिङ भइरहेको जनाएको छ । परराष्ट्र, श्रम, पर्यटन र गृह मिलेर संयुक्त रूपमा काम गरिएको र सोही आधारमा एउटा ‘टास्क फोर्स’ बनाएको उनले बताए ।
सरकारले आवश्यक परे पानी जहाज भाडामा लिएर भए पनि समस्यामा परेका नेपालीको उद्धार गर्ने गरी तयारी भइरहेको मन्त्री शर्माले जनााए । दूतावास तथा नियोगहरूलाई पानीजहाजबाट नेपालीलाई युद्धबाट, गोली चलेको ठाउँबाट निकालेर शान्ति भएको ठाउँमा कसरी ल्याउन सकिन्छ भनेर तयारी गर्न भनिएको उनले बताएको छ ।
कति संख्यामा फर्किने भनेर प्लान ए, प्लान बी, प्लान सी बनाएर त्यो संख्या अनुसार उद्धार कार्य गर्ने मानसिकता विकास गरेर सोही अनुसार योजना बनिरहेको उनको भनाइ छ ।












