जनकपुर, २२ फागुन । धनुषा–१ मा रास्वपाको उम्मेदवारी खारेज भए पनि मतपत्रमा रहेको घन्टी चिह्नमा परेको मत कसरी गणना गर्ने भन्ने विषयमा विवाद भएपछि मतगणना सुरु हुन सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले फागुन १८ गते खारेज गरेको थियो । उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
मतपत्रमा घन्टी चिह्न कायम रहेकाले सो चिह्नमा परेको मतलाई सदर गर्ने कि बदर गर्ने भन्नेबारे अन्योल भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग निर्देशन मागेको छ ।
मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार आयोगलाई पत्र पठाइसकिएको छ र बिहान १० बजेसम्म निर्देशन आएपछि मात्र मतगणना अघि बढाइनेछ ।














