जनकपुर, १९ फागुन । आज दिउँसो करिब १:५० बजे धनुषाको मिथिला नगरपालिका–८, ब्रहरी पुल नजिक शंकास्पद वस्तु विस्फोट हुँदा तीन जना बालबालिका घाइते भएका छन् ।
पुलको छेउमा प्लास्टिकको डल्लो वा बलजस्तो देखिने वस्तु फेला परेको थियो । स्थानीय बालिका आशा भुजेलले खेल्ने क्रममा उक्त वस्तुलाई बलझैँ हान्दा अचानक विस्फोट भएको बताइएको छ ।
विस्फोटबाट १६ वर्षीया अरुणिमा भुजेल, ८ वर्षीय सुशिल माझी र ८ वर्षीय विश्वजित कुमार महतो सामान्य घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि स्थानीय जमुनिबास अस्पताल लगिएको छ ।
चिकित्सकका अनुसार उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । घटनापछि प्रहरीले क्षेत्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ । विस्फोटक पदार्थ कसले र किन राखेको भन्नेबारे यकिन भइसकेको छैन ।
प्रारम्भिक आशंकाअनुसार प्रतिबन्धित गतिविधिमा संलग्न समूहले उक्त वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ । यस विषयमा सुरक्षा निकायले विस्तृत छानबिन गरिरहेको जनाएको छ ।














