पोखरा, १९ फागुन । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडस्थित लालुपाते मार्ग (स्ट्रिट ४१०) मा रहेको होटल फेवा सुट्सअगाडि मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेको छ ।
सडकछेउमा बेवारिसे झोलाभित्र प्रेशर कुकरजस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले क्षेत्र घेरा हालेर आवतजावत बन्द गराएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले रोबोट तथा रिमोट प्रविधिबाट परीक्षण सुरु गरेको छ ।
हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन भने प्रहरीले सीसीटीभी फुटेजमार्फत अनुसन्धान तीव्र पारेको जनाएको छ ।














