जनकपुर, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की नेतृ तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुली कुमारी महतोले आइतबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।
जनकपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले क्षेत्रको समग्र सामाजिक, आर्थिक र भौतिक विकासलाई केन्द्रमा राख्दै १० बुँदे कार्ययोजना अघि सारेकी हुन् ।
उनले धनुषा–३ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतिबद्धता प्रस्तुत गरेको बताइन् । प्रतिबद्धता पत्रको पहिलो बुँदामा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको छ ।
मिथिलाको धार्मिक पहिचान बोकेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने, यसलाई अन्तर्राष्ट्रिय वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने तथा ऐतिहासिक बाह्रबिघा क्षेत्रको सौन्दर्यीकरण गर्ने योजना उल्लेख छ ।
दोस्रो बुँदामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्रमुख एजेन्डाका रूपमा राखिएको छ । रामस्वरूप रामसागर बहुमुखी क्याम्पस र राजर्षि जनक विश्वविद्यालयको स्तरोन्नति, विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, निःशुल्क तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।
साथै प्रादेशिक अस्पताललाई आधुनिक उपकरणसहित स्तरोन्नति गरी सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ ।
तेस्रो बुँदामा उद्योग क्रान्तिमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारिएको छ । उद्योग स्थापना गर्न सहुलियत ब्याजदरमा ऋण, साना कृषक तथा व्यवसायीका लागि लघु बीमा, महिला, युवा, किसान र साना उद्यमीलाई बिना धितो कर्जा उपलब्ध गराउने योजना समेटिएको छ ।
साथै औद्योगिक कोरिडोर निर्माण र बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । चौथो बुँदामा सडक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
सबै गाउँ र बस्तीलाई बजारसँग सडक सञ्जालमार्फत जोड्ने, रणनीतिक सडकसँग स्थानीय सडकको कनेक्टिभिटी सुदृढ गर्ने तथा १५ दिने मिथिला माध्यमिकी परिक्रमाको मार्ग स्तरोन्नति र विश्रामस्थलको सौन्दर्यीकरण गर्ने योजना अघि सारिएको छ ।
पाँचौँ बुँदामा चक्रपथ निर्माण, योजनाबद्ध बस्ती विकास, यातायात व्यवस्थापन सुधार तथा सफा, सुन्दर र आधुनिक महानगर निर्माण गर्ने लक्ष्य उल्लेख गरिएको छ ।
युवालाई लक्षित गर्दै “खेलमा जोश, युवामा होस” नारासहित रामजानकी बहुउद्देश्यीय रंगशाला र शहीद दुर्गानन्द झा रंगशाला सञ्चालनमा ल्याउने, खेल पर्यटन प्रवद्र्धन गर्ने तथा प्रत्येक वडामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने योजना पनि समावेश गरिएको छ ।
यसैगरी “सीमा होइन, सेतु” नारामार्फत सीमावर्ती क्षेत्रको आर्थिक तथा सामाजिक सहकार्य सुदृढ गर्ने, “अन्नदाता हास्यो, देश जाग्यो” अभियानअन्तर्गत कृषकको आय वृद्धि गर्ने र “कसैलाई पछाडि नछाड्ने” सिद्धान्तअनुसार समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता पनि महतोले व्यक्त गरिन् ।
उम्मेदवार महतोले आफ्नो प्रतिबद्धता पत्र कार्यान्वयनमुखी रहेको दाबी गर्दै जनताको विश्वास र मत प्राप्त भएमा धनुषा–३ लाई समृद्धिको नयाँ दिशामा अघि बढाउने विश्वास व्यक्त गरिन् ।














