काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल दुई ठूला छिमेकी राष्ट्रको बीचमा रहेकाले भावनामा बगेर चर्का अभिव्यक्ति दिनु उपयुक्त नहुने बताएका छन् ।
उनले नेपालको भूराजनीतिक अवस्थालाई गम्भीरतापूर्वक बुझेर सन्तुलित र व्यवहारिक कूटनीति अपनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले नेपाल भारत र चीनजस्ता दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेकाले कुनै एकतर्फ झुक्ने वा उत्तेजक भाषा प्रयोग गर्ने नीति देशहितमा नहुने स्पष्ट पारे ।
‘हामी भारत र चीनको बीचमा छौँ । चर्को कुरा गरेर मात्रै राष्ट्रको हित सुरक्षित हुँदैन,’ थापाले भने, ‘दुवै छिमेकीसँग समझदारी, विश्वास र सहकार्यको सम्बन्ध बनाएर अघि बढ्नुपर्छ ।
उनले छरछिमेकी राष्ट्रसँग सन्तुलन कायम राख्नु नेपालको परराष्ट्र नीतिको मूल आधार हुनुपर्ने बताए । भूराजनीतिक संवेदनशीलतालाई बेवास्ता गर्दा राष्ट्रिय स्वाधीनता, आर्थिक विकास र स्थायित्वमा असर पर्न सक्ने थापाको भनाइ थियो ।
सभापति थापाले देशभित्र विभिन्न समुदाय, वर्ग र राजनीतिक शक्तिबीच तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सन्तुलन कायम राख्न सक्ने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको दाबी गरे ।














