जनकपुर, ४ फाल्गुण। धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार बिमलेन्द्र निधि जनकपुर उपमहानगरपालिका वडा नं. ७ मा मतदाता भेटघाट कार्यक्रमका लागि पुग्नुभएको छ।
वडा स्तरीय भेटघाट कार्यक्रमअन्तर्गत निधिले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनुभयो। कार्यक्रममा स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा उम्मेदवार निधिले क्षेत्रको विकास, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले जनताको साथ र विश्वासकै बलमा समृद्ध धनुषा निर्माण गर्ने लक्ष्य रहेको पनि बताउनुभयो। कार्यक्रममा सहभागी मतदाताहरूले पनि आफ्नो भोगाइ, समस्या र सुझावहरू राख्दै आगामी दिनमा प्रभावकारी नेतृत्वको अपेक्षा व्यक्त गरेका थिए।
नेपाली काँग्रेसले जनतासँग प्रत्यक्ष संवादमार्फत चुनावी अभियानलाई थप सशक्त बनाउँदै लगेको जनाएको छ।














