झापा, ३ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने दाबी गरेका छन् ।
आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपालको चुनावलाई बंगलादेश सँग तुलना गरेका हुन् । बंगलादेशमा आन्दोलनबाट आएका दल कमजोर बनेको उदाहरण दिँदै ओलीले नेपालमा पनि पुरानै दल बलियो भएर आउने संकेत गरे ।
सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले पटक–पटक “हुने नै त्यही हो” भन्ने प्रतिक्रिया दिए । चुनावी अभियानका लागि काठमाडौँबाट झापा फर्किएका ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार हुन् ।
उनले केही दिन निर्वाचन क्षेत्रमा रहेर मतदाता भेटघाट र घरदैलो कार्यक्रम गर्ने बताए । ओलीले अब चुनाव हुने आशा बढेको उल्लेख गर्दै चुनाव भए आफ्नो पार्टी सहभागी हुने स्पष्ट पारे ।














