जनकपुर, ३ फाल्गुन । आज क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत वडा नं १ र २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका सक्रिय युवा नेताहरूले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय स्तरमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न वडाबाट आएका युवाहरूले नेपाली काँग्रेसको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूलाई नेपाली काँग्रेसका क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादव, समानुपातिक उम्मेदवार डा. चन्द्रमोहन यादव तथा धनुषा जिल्ला सभापति योगेन्द्र पंजियारले खादा, अबिर र शुभकामनासहित स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा बोल्दै नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली काँग्रेस मात्रै लोकतन्त्र, संविधान र जनताको अधिकारको सशक्त र भरोसायोग्य संरक्षक भएको बताए ।
उनीहरूले युवाहरूको सक्रिय सहभागिताले पार्टी थप सशक्त हुने विश्वास व्यक्त गरे । पार्टी प्रवेश गर्नेहरूमा जितेन्द्र यादव, कविता यादव, प्रहलाद साह, नगेन्द्र यादव, कमेश साह, सूर्य नारायण यादव, सुदीप यादव, विनोद यादव तथा राज कुमार सदा रहेका छन् ।
स्थानीय नेताहरूका अनुसार, यी युवाहरूको प्रवेशले नेकपा एमालेलाई ठुलो धक्का पुगेको छ ।


















