महोत्तरी, ३ फाल्गुन । डा. राकेश मण्डलले महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण नेपाली जनता तथा मतदातालाई शुभकामना व्यक्त गरेका छन् ।
महोत्तरी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मण्डलले महाशिवरात्रिले समाजमा सत्य, धर्म र न्यायको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
शुभकामना सन्देशमा उनले आफ्नो उम्मेदवारीबारे धारणा राख्दै भने, “मेरो उम्मेदवारी पुराना सत्ताधारी शक्ति र नयाँ अवसरवादी गठबन्धनको विरुद्ध बलियो विकल्पका रूपमा अघि आएको हो ।
” जनताको वास्तविक समस्यालाई प्राथमिकतामा राखेर राजनीति गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट पारे । डा. मण्डलले वर्षौंदेखि सत्ता र शक्ति केन्द्रमा बसेर जनअपेक्षा पूरा गर्न असफल भएका समूहहरू र नाम मात्रै नयाँ तर व्यवहारमा पुरानै प्रवृत्ति बोकेका शक्तिहरूको गठबन्धनविरुद्ध जनताको साथ खोजेको बताए ।
उनले महोत्तरी क्षेत्र नं २ का मतदातासँग विकास, सुशासन र पारदर्शी राजनीतिका लागि साथ र समर्थनको आग्रहसमेत गरेका छन् ।
महाशिवरात्रिको सन्दर्भमा उनले भगवान् शिवको कृपाले देशमा शान्ति, सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।














