जनकपुर, २ फाल्गुन । नेपाली कांग्रेसले मधेस प्रदेशमा आयोजना हुने चुनावी सभामार्फत आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीले फागुन ६ गते धनुषाको जनकपुरमा आयोजना गर्न लागेको भव्य चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । यसअघि आइतबारका लागि काठमाडौँमा तय गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गर्दै कांग्रेसले मधेस केन्द्रित चुनावी सभालाई प्राथमिकता दिएको छ ।
पार्टी नेतृत्वले मधेसबाटै घोषणापत्र सार्वजनिक गर्दा चुनावी सन्देश अझ प्रभावकारी हुने निष्कर्ष निकालेको जनाइएको छ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको घोषणापत्र फागुन ६ गते जनकपुरमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।
उनका अनुसार सो अवसरमा कांग्रेस सभापति गगन थापासहित शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता रहनेछ । जनकपुरमा हुने यो चुनावी सभा मधेस प्रदेशमा कांग्रेसको शक्ति प्रदर्शनका रूपमा लिइएको छ ।
पार्टीले स्थानीय विकास, रोजगारी, सुशासन, सामाजिक न्याय र संघीयता सुदृढीकरणलाई प्राथमिकतामा राख्दै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
कांग्रेसले यसपटक ‘भिजन १०’ को थिममा आधारित रहेर घोषणापत्र तयार पारेको छ, जसलाई पार्टीले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।
आगामी १० वर्षभित्र देशलाई समृद्ध र स्थिर दिशातर्फ लैजाने लक्ष्यसहित तयार पारिएको यो प्रतिज्ञापत्रमार्फत कांग्रेसले मतदातासामु स्पष्ट प्रतिबद्धता प्रस्तुत गर्ने बताइएको छ ।














