जनकपुर, २ फाल्गुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जातीय संगठनहरूले छलफल तीव्र पारेका छन् ।
यसैक्रममा तत्मा बौधिक समाज धनुषाले निर्वाचनको सेरोफेरोमा बृहत् छलफल कार्यक्रम आयोजना गरेको छ । समाजका अध्यक्ष ई. रामबाबु दासको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागीहरूले उम्मेदवारको भिजन, विकास योजना र दलित समुदायप्रतिको प्रतिबद्धताको आधारमा मतदान गर्नुपर्ने धारणा व्यक्त गरे ।
अध्यक्ष दासले क्षेत्रको समग्र विकास गर्न सक्ने क्षमता र स्पष्ट योजना भएका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताए । दलित तथा गरिब समुदायको स्वास्थ्य र शिक्षाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए ।
उनले भने, “गरिब समुदायले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने भए पनि व्यवहारमा त्यो सम्भव भएको छैन । अस्पतालमा उपचार गराउन जाँदा पैसा नहुँदा फर्किनुपर्ने अवस्था छ ।
पैसा छैन भने उपचार छैन भन्ने स्थिति छ । उनले शिक्षाको अवस्था पनि उस्तै कमजोर रहेको उल्लेख गर्दै गरिब तथा दलित परिवारका बालबालिका गुणस्तरीय शिक्षा बाट वञ्चित भइरहेको बताए ।
“शिक्षा र स्वास्थ्य जस्ता आधारभूत अधिकारमै पहुँच नहुँदा दलित समुदाय अझै पछाडि परेको छ,” उनले भने, “यस्तो अवस्थामा दलितलाई कसले हेर्ने, कसले जिम्मा लिने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।
अध्यक्ष दासले आगामी निर्वाचनमा उम्मेदवारहरूले यस्ता वास्तविक समस्या समाधान गर्ने स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिँदै दलितको शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा नराख्ने नेतृत्वले समाजको रूपान्तरण गर्न नसक्ने धारणा राखे ।
कार्यक्रममा समाजका सचिव विनोद दासले धार्मिक स्थलहरूलाई आर्थिक सम्भावनासँग जोड्नुपर्ने आवश्यकता औंल्याए । भारतको उदाहरण दिँदै उनले धार्मिक पर्यटनलाई आम्दानीको स्रोत बनाएर क्षेत्र विकास गर्न सकिने बताए ।
उनले नेताहरूले व्यक्तिगत रूपमा ठूलो धन आर्जन गरे पनि देश विकासमा असफल भएको टिप्पणी गरे । उपाध्यक्ष उपेन्द्र दास शशीले सामाजिक संरचना र धार्मिक कुरीतिले दलित समुदायलाई पछाडि पारेको भन्दै समान अवसर र समावेशी विकास अपरिहार्य रहेको बताए ।
कार्यक्रममा समाजका प्रेस सल्लाहकार कुलदिप दासले उम्मेदवारहरूले विकासका नारा त दिने तर अर्थतन्त्र र स्रोत व्यवस्थापनबारे स्पष्ट नबोल्ने गरेको आलोचना गरे ।
उनले ठोस आर्थिक योजना नबनेसम्म मुलुक विदेशी ऋणमा निर्भर रहिरहने र कर्जाको बोझ बढ्दै जाने चेतावनी दिए । छलफलमा कोषाध्यक्ष राम बृक्ष दाससहित समाजका विभिन्न पदाधिकारी र सदस्यहरूले आ–आफ्ना विचार राख्दै सचेत र जिम्मेवार मतदानबाटै मुलुकको भविष्य सुनिश्चित हुने निष्कर्ष निकाले ।














