काठमाडौँ, २ फाल्गुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भू–राजनीतिक चक्रब्युहमा फसिसकेको दाबी गरेका छन् ।
काठमाडौँ–२ मा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले देशको निर्णय अधिकार नेपाली जनताबाट बाहिर गएको जिकिर गर्दै मतदातालाई सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।
लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई देशको ‘अभिशाप’को संज्ञा दिँदै यी संरचनाभित्र व्यक्ति मात्रै फेरिँदा मुलुकको अवस्था नबदलिने बताए ।
उनका अनुसार अनुहार वा उमेर होइन, विचार र विकल्प बोकेको शक्ति छान्नुपर्ने आवश्यकता छ । उनले सामाजिक सञ्जालमा आधारित धारणा बनाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै २०४६ पछि कांग्रेस, एमाले र माओवादीमा उही नेता र उही प्रवृत्ति दोहोरिएको आरोप लगाए ।
आफूलाई नयाँ भन्ने शक्तिहरू पनि पुरानै सोचका उत्तराधिकारी भएको उनको भनाइ छ । राप्रपा अध्यक्ष लिङ्देनले विदेशी शक्तिहरूले नेपालमा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा समेत योजना बनाउन थालेको दाबी गर्दै यस्तो हस्तक्षेपले मुलुकलाई गम्भीर संकटतर्फ लैजाने चेतावनी दिए ।
कमजोरी नदोहोरिने नयाँ समझदारीमार्फत मुलुकलाई निकास दिनु आजको अपरिहार्य आवश्यकता रहेको उनको भनाइ छ ।














