काठमाडौँ, २९ माघ । मेडिकल व्यवसायी तथा अभियान संयोजक दुर्गा प्रसाईंले देशमा ‘डिप स्टेट’ को आडमा नयाँ राजनीतिक शक्तिहरू उदाएको आरोप लगाएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापालाई पश्चिमा शक्तिको एजेन्टको संज्ञा दिँदै नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र भइरहेको दाबी गरे ।
प्रसाईंले ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी’ लगायत पश्चिमा संस्थाहरूले नेपालमा लामो समयदेखि हस्तक्षेप गरिरहेको आरोप लगाए। सामाजिक सञ्जाल र विदेशी फन्डिङमार्फत जनमत भ्रमित पारिएको उनले बताए ।
उनले फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न निषेधाज्ञा तोडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान समर्थकहरूलाई आह्वान गरे । देशको अस्तित्व जोगाउन राजसंस्थाको विकल्प नभएको भन्दै आफू जेल जान पनि तयार रहेको बताए।
साथै, ओली–देउवा–प्रचण्डलाई हिन्दु राष्ट्र र राजसंस्था स्वीकार गर्न आह्वान गर्दै वर्तमान चुनाव विदेशीको इसारामा भएको भन्दै हुन नदिने चेतावनी दिए ।














