काठमाडौं, २६ माघ । ओली सरकारले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल विधेयक २०८१’ राष्ट्रियसभाबाट फिर्ता भएको छ ।
सोमबार बसेको राष्ट्रियसभा बैठकले विधेयक फिर्ता गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । यसअघि माघ २३ गते प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री अनिल सिन्हाले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
गत वर्ष माघ २७ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण र नियमनको कानुनी आधार तयार गर्ने उद्देश्यसहित विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो ।
विधेयकमा सामाजिक सञ्जालमा अपमानजनक सामग्री, हेट स्पिच, भ्रामक सूचना तथा ट्रोल नियन्त्रण गर्न जरिवाना र कैद सजायको व्यवस्था प्रस्ताव गरिएको थियो ।
आजकै बैठकले पर्यटन विधेयक २०८१ पारित गर्नुका साथै पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।














