काठमाडौं, २६ माघ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि सातै प्रदेशका उम्मेदवारसँग भेटघाट गर्दै सडक यात्रामा निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अहिले पुनः घरदैलो अभियानमा फर्किएका छन् ।
माघ ६ गते झापा–५ बाट उम्मेदवारी दर्ता गरेपछि उनी पूर्वदेखि पश्चिमसम्म चुनावी यात्रामा सक्रिय थिए । सो क्रममा उनले मुख्यतः रास्वपाका उम्मेदवारसँग मात्रै भेटघाट तथा चुनावी रणनीतिबारे छलफल गरेका थिए भने मतदातासँग प्रत्यक्ष संवाद गरेका थिएनन् ।
हाल भने बालेन झापा–५ मै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् । दुई दिनदेखि चलिरहेको घरदैलो अभियानअन्तर्गत सोमबार मात्रै १५ स्थानमा मतदातासँग भेट्ने कार्यक्रम तय गरिएको छ।
उनी घरदैलोका क्रममा मतदाताको कुरा बढी सुन्ने र कम बोल्ने शैलीमा देखिएका छन् । पहिलो चरणको सडक यात्राले मतदाता चिढ्याएको विश्लेषणपछि अहिले मतदाता रिझाउन घरदैलो अभियान थालिएको बताइएको छ ।
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।














