काठमाडौं, २६ माघ । प्रतिनिधिसभा निर्वाचन आउन २४ दिन बाँकी रहँदा निर्वाचन आयोगले मत बदर हुने समस्या घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ ।
आयोगले यसका लागि २५ करोड रुपैयाँ बजेट छुट्याएको छ । आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत २३ हजार मतदान अधिकृत तथा कर्मचारी, साथै स्वास्थ्य स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत र मिथ्या सूचना पहिचानबारे सचेत गराउन डिजिटल प्लेटफर्ममार्फत पनि निरन्तर सामग्री प्रसारण भइरहेको आयोगले जनाएको छ ।
यस कार्यक्रमले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने आयोगको विश्वास छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ ।
यसअन्तर्गत प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुनेछन् ।














