काठमाडौं, २५ माघ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।
सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम गरिदिन माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनको उम्मेदवारी अस्वीकृत हुने अवस्था कायम रहेको हो ।
आइतबार सर्वोच्च अदालतमा भएको प्रारम्भिक सुनुवाइपछि अदालतले रेशम चौधरीको पक्षमा कुनै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो ।
यससँगै कैलाली–१ का निर्वाचन अधिकृतले गरेको उम्मेदवारी खारेजसम्बन्धी निर्णय यथावत् रहेको छ । रेशम चौधरीले कैलाली–१ का निर्वाचन अधिकृतले आफ्नो उम्मेदवारी खारेज गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
तर अदालतले निर्वाचन अधिकृतको निर्णय तत्काल कार्यान्वयनमा रोक लगाउने आधार नदेखिएको भन्दै अन्तरिम आदेश नदिएको हो ।
यसअघि कैलाली निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतले कानुनी कारण देखाउँदै चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।
सर्वोच्च अदालतको पछिल्लो आदेशपछि रेशम चौधरीको उम्मेदवारी दर्ता हुने सम्भावना हालका लागि समाप्त भएको छ ।














