जनकपुर, २५ माघ । धनुषाको लालगढ क्षेत्रका नेकपा (एमाले) का नेता सुदर्शन गजुरेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । स्थानीय राजनीतिमा सक्रिय र चर्चित युवा नेताका रूपमा चिनिने गजुरेलले कांग्रेसको नीति, विचार र नेतृत्वप्रति आकर्षित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।
उनले आगामी निर्वाचनमा महेन्द्र यादवलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कांग्रेस प्रवेश कार्यक्रमका क्रममा उम्मेदवार यादवले गजुरेलजस्ता ऊर्जाशील र लोकप्रिय युवा नेताको आगमनले पार्टी थप सशक्त हुने विश्वास व्यक्त गरे ।
उनले पछिल्लो समय युवाहरूको ठूलो संख्या कांग्रेसप्रति आकर्षित हुँदै पार्टी प्रवेश गरिरहेको उल्लेख गर्दै यसले निर्वाचनमा सकारात्मक सन्देश जाने बताए ।
एक स्थानीय कांग्रेस नेताका अनुसार अहिले महेन्द्र यादवलाई साथ र समर्थन जनाउँदै विभिन्न दल परित्याग गरी युवाहरू कांग्रेस प्रवेश गर्ने क्रम निरन्तर बढिरहेको छ ।














