जनकपुर, २३ माघ । आसन्न आम निर्वाचनका लागि उम्मेदवारहरूले मतदाता आकर्षित गर्न टोल र बस्तीमा पुग्न थालेका छन् ।
तर धनुषाका अधिकांश दलित बस्ती अझै पनि राजनीतिक पहुँचबाट बाहिर छन् । दलित अगुवाहरूका अनुसार नेताहरू चुनावको बेला मात्र आश्वासन र प्रलोभन दिन्छन्, तर नियमित सेवा र पहुँचमा दलित समुदाय पछि परेको छ ।
धनुषाका दलित अगुवाहरूले जनकपुरमा बैठक गर्दै यसपटक कसलाई र किन मतदान गर्ने भन्ने विषयमा समीक्षा गरेका छन् ।
बैठकमा दलित अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय र राजनीतिक सहभागितामा कम पहुँच जस्ता समस्याहरू औँल्याइए ।
सहभागीहरूले निर्वाचनअघि आफ्ना माग स्पष्ट र संगठित रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।














