काठमाडौं, २२ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूले मौन विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार टेलिकमका तीन कर्मचारी सङ्गठनले संयुक्त रूपमा ‘हामी अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको व्यानरसहित विरोध जनाएका हुन् ।
कर्मचारीहरूले आवधिक बढुवा, कर्मचारी विनियमावली संशोधन, सेवा–सुविधा सुनिश्चित गर्न माग गरेका छन् । विनियमावली नबन्दा १३–१४ वर्षदेखि एउटै पदमा बस्नुपरेको गुनासो उनीहरूको छ ।
युनियनहरूले बोनस, महँगी भत्ता वितरण रोकिएकोप्रति आपत्ति जनाउँदै यसले कर्मचारी मनोबल र उत्पादनशीलतामा असर परेको बताएका छन् । साथै, बिलिङ प्रणाली, परियोजना ढिलाइ, वृत्तिविकास र सेवाग्राही अधिकारमा तत्काल सुधारको माग गरिएको छ ।














