जनकपुर, २१ मघ । धनुषा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपालमा पार्टी प्रवेशको लहर तीव्र बनेको छ ।
जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका छन् ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए । यस्तै, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमनलगायत पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव सञ्जय चौधरी, सञ्जय सिंहसहित सयौँ नेता तथा कार्यकर्ताहरूले आफ्नो पुरानो पार्टी परित्याग गर्दै जसपा नेपालमा औपचारिक रूपमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले माला, खादा तथा अबिर लगाएर स्वागत गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेसको अधिकार, पहिचान र समावेशी लोकतन्त्रका लागि जसपा नेपाल निरन्तर संघर्षरत रहेको बताए ।
उनले पछिल्लो समय पार्टीप्रति जनआकर्षण बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा मधेस आन्दोलनका एजेन्डालाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।














