जनकपुर, १९ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालबाट ‘जातो (चकिया)’ चुनाव चिह्न लिएर धनुषा–३ बाट उम्मेदवारी दर्ता गराएका राजीव झा यतिबेला मतदाता भेटघाटमा सक्रिय देखिएका छन्।
राजीव झा जनकपुरवासीका लागि नयाँ नाम होइनन्। कोरोना महामारीको चरम संकटका बेला, जब अस्पतालमा अक्सिजन अभावले बिरामीहरूको जीवन जोखिममा थियो, क्लोथ बैंक जनकपुर मार्फत उनले २४ सै घण्टा अक्सिजन सेवा सञ्चालन गरेर दर्जनौँ ज्यान जोगाएका थिए।
समाजसेवा क्षेत्रमै लामो समय सक्रिय झा अब आफ्नो अनुभवलाई नीति निर्माण र नेतृत्वमा रूपान्तरण गर्ने उद्देश्यसहित राजनीतिमा प्रवेश गरेका छन्।
उनी जनता संगको प्रत्यक्ष भेटघाट, घरदैलो अभियान र स्थानीय समस्यामा समाधान खोज्ने काममार्फत जनताको मत हासिल गर्न प्रयासरत छन्।
राजीव झाले भनेका छन्, सेवाबाट सिकेको अनुभवलाई अब जनताको हितमा नीति र नेतृत्वमार्फत कार्यान्वयन गर्न चुनावमा आएको हुँ।”
निःस्वार्थ सेवा, संकटमा देखाएको नेतृत्व क्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण उनलाई ‘जनताको उम्मेदवार’ भनेर चिनिन थालिएको छ।














